मकवानपुर । बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले शपथ ग्रहण गरेकी छिन् । उनलाई प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा मंगलबार आयोजित एक कार्यक्रमबीच उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्य न्यायाधीश कुँवरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यन्यायाधिवक्ता बस्नेतले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरू लगायतको सहभागिता रहेको थियो ।
बस्नेतलाई मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले गत आइतबार मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको थियो । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार रहने व्यवस्था छ ।
प्रदेश सरकारलाई कानुनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्यन्यायाधिवक्ताको रहने व्यवस्था छ ।















