हेटौंडा । छिमेकी जिल्ला काठमाडौं र चितवनमा बर्डफ्लु संक्रमण देखिएसँगै मकवानपुर जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको छ । कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित ओसारपसार र विभिन्न जिल्लासँगको सहज आवतजावतका कारण संक्रमण मकवानपुरमा फैलिन सक्ने जोखिम बढेको हो ।
जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा.रामप्रकाश प्रधानले चितवन र काठमाडौंमा बर्डफ्लु पुष्टि भइसकेकाले मकवानपुर जोखिमययुक्त जिल्लाको रूपमा रहेको बताए । मकवानपुरमा संक्रमण भित्रिन नदिन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुर हुँदै दैनिक रूपमा विभिन्न जिल्लाबाट कुखुरा, चल्ला, दाना तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुने भएकाले संक्रमणको जोखिम अझ बढेको छ । यही कारण सम्भावित संक्रमण रोकथामका लागि निगरानीलाई थप कडा बनाइएको कार्यालयले जनाएको छ ।
डा.प्रधानले कुखुरामा अस्वाभाविक मृत्यु, बिरामी पर्ने वा बर्डफ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएमा लुकाएर नराखी तत्काल जिल्ला पशुसेवा कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन किसानसँग आग्रह गरे । साथै कुखुरा फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरबाट ल्याइने कुखुरा तथा सामग्रीको उचित व्यवस्थापन गर्न र अनावश्यक आवतजावत नियन्त्रण गर्न पनि उनले सुझाव दिइएको छ ।
छिमेकी जिल्लामा संक्रमण देखिइसकेको अवस्थामा समयमै सतर्कता अपनाउन नसके मकवानपुरमा पनि बर्डफ्लु फैलिन सक्ने जोखिम रहने भएकाले सम्बन्धित निकायले रोकथाम, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
छिमेकी जिल्लामा बर्डफ्लु देखिएको अवस्था भएपनि मकवानपुरमा खुल्लमखुल्ला रुपमा कुखुराको चल्ला, दाना, कुखुरा भित्रिरहेको छ ।















