हेटौँडा । हेटौँडा क्याम्पसमा ‘कानूनको शासन र कल्याणकारी राज्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कानून दिवसको अवसरमा शनिबार हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षता तथा बागमती विश्वविद्यालयका रजिष्ट्रार कुशुमराज सुवेदी प्रमुख आतिथ्यतामा भएको हो । स्नातक तहमा कानून विषयको अध्यापन सुरु गरेको हेटौँडा क्याम्पसमा आयोजित अन्तरक्रियामा सहभागी वक्ताहरूले विधिको शासन स्थापित हुनुपर्नेमा जोड दिएका थिए । राज्य व्यक्तिको बोली वा इच्छाअनुसार नभई कानूनको आधारमा सञ्चालन हुनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले कार्यपत्र प्रस्तुत गर्दै कानूनको शासनले मात्रै लोकतान्त्रिक तथा कल्याणकारी राज्य निर्माण गर्न सकिने बताए । उनले नागरिक अधिकारको संरक्षण र राज्यका निकायलाई जवाफदेही बनाउन विधिको शासन अपरिहार्य रहेको धारणा राखे ।
कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, अधिवक्ता मुकुन्द अधिकारीलगायत हेटौँडा क्याम्पसमा स्नातक तह प्रथम वर्षमा कानून विषय अध्ययनरत विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।















