मकवानपुर । २०२१ साल असोज २० गते मकवानपुरमा जन्मिएकी महालक्ष्मी उपाध्याय डिना नेपाल विद्यार्थी संघको राजनीति हुँदै मुलधारको राजनीतिमा आएकी नेतृ हुन् । राजनीतिक वातावरण एवम् परिवारमा हुर्किएकी उनले राजनीतिमार्फत समाजसेवालाई अघि बढाइरहेकी छिन् ।
उनको हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र सेनानी थिए, जसले राजनीतिक सक्रियताका कारण १२ वर्ष जेल जीवन बिताएका थिए । राजनीतिमा सानैबाट उत्सुक डिना २०३९ सालमा कन्या माध्यमिक विद्यालय (लैनचौर) बाट एसएलसी उत्तीर्ण गरेपछि औपचारिक रुपमा विद्यार्थी राजनीतिमा लागेकी थिइन् ।
२०३९ सालमा पद्मकन्या क्याम्पसको नेवि संघ इकाइ सदस्य भएर राजनीतिमा प्रवेश गरेकी उनी २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा पक्राउ परिन् । ७ महिना केन्द्रीय महिला कारागारमा बन्दी जीवन समेत बिताइन् । जेलमा उनले नेतृ शैलजा आचार्यको निकट हुने मौका पाइन् । कारागारबाट रिहा भएपछि उनी २०४३ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापति पदमा निर्वाचित भएकी थिइन् । डिनाले पद्मकन्या क्याम्पसबाट बी.ए. र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर (एम.ए.) गरेकी छिन् ।
साथै उनले बेलायतको रिडिङ विश्वविद्यालयबाट ‘ग्रामीण विस्तार र महिला’ विषयमा पोष्ट ग्राजुएट (पीजी) को उपाधि हासिल गरेकी छिन् । राजनीतिमै अघि बढ्ने क्रममा २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ मकवानपुरको संस्थापक अध्यक्ष भएर काम गरिन् । २०६२ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र २०७८ सालमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा विजयी भएर काम गरिसकेकी छिन् ।
कांग्रेसको राजनीतिमा राम्रो पहुँचका हुनुका साथै इमान्दार छवि बनाएकी र विद्यार्थी राजनीतिबाट आएकी उपाध्यायले जलस्रोत राज्यमन्त्रीको भूमिका समेत निर्वाह गरिसकेकी छिन् । उनले दुईपटक संविधानसभा सदस्यको रूपमा संविधान लेखनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । नेपालको संविधान २०७२ मा महिला अधिकार, पैतृक सम्पत्तिमा समान अधिकार र राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न उनले नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।
२०६३ सालको अन्तरिम सरकारमा जलस्रोत राज्यमन्त्री हुँदा उनले मकवानपुरका विकट गाउँहरूमा विद्युतीकरण विस्तारमा प्राथमिकता दिएकी थिइन् । संविधानसभा सदस्य हुँदा उपाध्यायले संविधान मस्यौदा समितिको सदस्यको रूपमा ‘मौलिक अधिकार र निर्देशक सिद्धान्त’ लेखनमा योगदान पु¥याएकी थिइन् ।
राजनीतिसँगै सामाजिक कार्यमा समेत उत्तिकै योगदान दिने क्रममा उनले सामुदायिक महिला विकास केन्द्रको अध्यक्ष भएर महिलाको हक अधिकारलाई ग्रामीण क्षेत्रमा बुझाउने र उनीहरुको हकहितमा काम गरेकी छिन् । यो संस्था मकवानपुरको पहिलो गैर–सहकारी संस्थाको रुपमा समेत रहेको छ । यस्तै २०५५ सालमा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरी संस्थापक अध्यक्ष भएर काम समेत गरिसकेकी छिन् ।
संविधानमा महिलाका हक अधिकार लेख्न महत्वपूर्ण योगदान दिएकी डिना जनताबाटै अनुमोदित भएर संविधान कार्यान्वयन गर्ने र जिल्लाको समग्र विकासमा लाग्ने योजनासहित मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् ।
















