मकवानपुर । बाल हेल्प लाइन मकवानपुरले ६ जना बालबालिकालाई उद्धार गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्डमा सञ्चालनमा रहेका दुई वटा होटलबाट ६ जना बालबालिकालाई उद्धार गरिएको बाल हेल्पलाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, बालबालिकाको सुरक्षा र संरक्षणलाई ध्यानमा राख्दै गरिएको अनुगमनका क्रममा उक्त उद्धार कार्य गरिएको हो । सडकखण्डका होटलहरूमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा हिजो माघ १७ गते आइतबार श्रम रोजगार कार्यालय हेटौँडा, स्थानीय प्रहरी र समाजसेवीहरुको समन्वयमा उक्त गाउँपालिका अन्तर्गत पर्ने सडकखण्डमा रहेको ३०० वटा होटल अनुगमन गरिएको थियो ।
सो क्रममा दुई वटा होलमा काम गरिरहेको तीन जना पर्सा जिल्लाको र तीन जना सोही जिल्लाका बालबालिका फेला परेपछि निजहरुको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये २ जना बालिका र ४ जना बालक रहेका छन् । उनीहरुको उमेर ९ देखि १६ वर्ष उमेर समूह भित्रका रहेको र उनीहरूलाई उद्धारपछि सुरक्षित रूपमा हेटौँडा ल्याईएको बाल हेल्प लाइन मकवानपुरका प्रवक्ता ज्ञवालीले बताए । अहिले ती बालबालिकाहरु बाल हेल्पलाइनको संरक्षणमा नै रहेके उनको भनाई छ ।
घटनासँग सम्बन्धित होटल सञ्चालक तथा अन्य व्यक्तिहरूको भूमिकाबारे स्थानीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा बालबालिकाको अधिकार उल्लंघन भएको देखिए कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।
बाल हेल्प लाइन मकवानपुरले बालश्रम, दुव्र्यवहार तथा जोखिमपूर्ण अवस्थाबाट बालबालिकालाई जोगाउन निरन्तर अनुगमन र उद्धार कार्य गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधि देखे वा जानकारी पाए तत्काल सम्बन्धित निकायमा खबर गर्न आम नागरिकलाई आग्रह गरेको छ ।















