निर्वाचनमा मकवानपुरमा ३ हजार बढी कर्मचारी परिचालन हुने

मकवानपुर । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा ३ हजार बढी कर्मचारी परिचालन हुने भएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडा प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा ३ हजार ३६६ कर्मचारी परिचालन हुने जानकारी दिए ।

निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले निर्वाचन कार्यालयबाट २ हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने एकहजार १२२ जना कर्मचारी परिचालन हुने बताए । यस बाहेक निर्वाचनमा करिब १ हजार प्रहरी र १ हजार ९२३ निर्वाचन प्रहरी परिचालन हुनेछन् । २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्रमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् ।

जसमध्ये मकवानपुर १ मा ७९ हजार ६२१ पुरुष, ७८ हजार ८१० महिला र अन्य ४ गरी एकलाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र १ अन्य गरी एकलाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा ४० वटा वडामा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेको छ ।

६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र कायम रहेको कार्यालयले जनाएको छ । यस बाहेक पनि जिल्लामा कैदीबन्दीका लागि भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौंडामै गरी दुइवटा निर्वाचन केन्द्र थप हुन सक्ने ढकालले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका १६७ मतदान स्थलमध्ये १९ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउने लक्ष्यसहित मकवानपुरमा हरित निर्वाचन अवधारणालाई विशेष प्राथमिकता दिइने भएको छ ।

प्रदेश निर्वाचन कार्यालयले आयोगले यो निर्वाचनलाई वातावरणमैत्री हरित निर्वाचन बनाउने लक्ष्य लिएको जानकारी दिँदै सोही अनुसार जिल्लामा पनि कार्यान्वयन गरिने बताएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.