हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । गएराति जिल्लाको मनहरी गाउँपालिका–७ स्थित मनहरी बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा शंका लागी खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–१ का ४८ वर्षीय होमराज अधिकारी, ३० वर्षीय हिरालाल प्रजा, १९ वर्षीय सुकराम प्रजा, १९ वर्षीय रामशरण प्रजा, २५ वर्षीया बिन्दु माया प्रजा, २२ वर्षीया रजिता प्रजा र ३० वर्षीया सुकमाया प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना.प्र.०१–००६५ र ०७०१ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरुको झोला खानतलासी गर्दा ५३ किलो ५७० ग्राम गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।















