हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासहित देशैभर जाडो बढेसँगै डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न वृद्धाश्रम र मन्दिरलाई दाउरा वितरण गरेको छ । चिसोका कारण वृद्धवृद्धा र सर्वसाधारणलाई परेको समस्यालाई मध्यनजर गर्दै कार्यालयले मंगलबार दाउरा वितरण गरेको हो ।
चिसो मौसममा आगो तापेर राहत मिलोस् भन्ने उद्देश्यले वन कार्यालयले दाउरा वितरण गरेको हो । वन कार्यालयका अनुसार हेटौंडा २, चौकीटोलस्थित ओम वृद्धाश्रम, हेटौंडा ४ मा रहेको भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौंडा ५ मा रहेको लक्ष्मीनारायण मन्दिर र हेटौंडा १० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको हो ।
जाडोबाट जोगाउन विशेष गरी वृद्धवृद्धालाई लक्षित गरेर दाउरा वितरण गरिएको डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलले जानकारी दिए । कार्यालयले विभिन्न सामुदायिक वनहरूसँग सहयोग मागेर दाउरा वितरण गरेको उनले बताए । चिसोबाट प्रभावित अशक्त तथा विपन्न वर्गले दाउराको माग गरेमा कार्यालयले आफैं यातायातको व्यवस्था गरी दाउरा उपलब्ध गराउने उनले बताए । स्थानीयको आवश्यकता र माग अनुसार दाउरा बाँडिएको पौडेलले बताए ।
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले समेत मन्दिर र बृद्धाश्रममा जिल्ला वन कार्यालयबाट आगो ताप्ने प्रयोजनाका लागि दाउरा उपलब्ध गराउने जानकारी दिएको छ । ‘आज झनै चिसो बढेको छ । कृपया चिसोबाट बच्नु होला । मन्दिर र बृद्धाआश्रममा जिल्ला बन कार्यालयबाट आगो ताप्ने प्रयोजनको लागि आवश्यक दाउरा प्रबन्ध गर्न भनिएको छ’, प्रशासन कार्यालयको सूचनामा भनिएको छ, ‘यस विषयमा सम्बधित वडा कर्यालयवाट जिल्ला वन कार्यालयमा सम्पर्क गर्नुहोला ।’















