कांग्रेसको बन्दसूचीमा मकवानपुरका सुनार र श्रेष्ठ

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा मकवानपुरबाट २ जनाको नाम समावेश भएको छ । कांग्रेसले बुझाएको नाममा मकवानपुरका पवित्रा सुनार र सर्मिला श्रेष्ठको नाम समावेश भएको छ ।

सुनार दलित महिला संघ फेडोका जिल्ला अध्यक्ष एवम् कांग्रेस नेतृ हुन् । यसैगरी श्रेष्ठ नेपाल महिला संघका केन्द्रीय सदस्य समेत भइसकेकी कांग्रेस नेतृ हुन् । नेपाली कम्युनिष्ट पार्टीले पनि मकवानपुरका एकजनाको नाम बन्द सूचीमा एकजनाको नाम सिफारिस गरेको छ ।

नेकपाबाट मनहरी ३ का मंगलसिंह प्रजाको नाम सिफारिस भएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समेटिएको छ । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेन दास प्रधानलगायतका नाम पनि अटाएका छन् ।

यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसीसम्मको नाम पनि सूचीमा समावेश गरिएको छ । समानुपातिक सूची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०÷४० को भागबण्डा लगाएको थियो । कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदो¥याउने मापदण्ड बनाएको थियो । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्तिसमेत सूचीमा रहने छैनन् ।

कांग्रेसको बन्दसूचीमा नाम परेका पवित्रा र सर्मिला दुवैजनाले बन्दसूचीमा नाम समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगका लागि अपेक्षा गरे । ‘पवित्रा विश्वकर्मा हुनुपर्नेमा पवित्रा सुनार लेखिएको रहेछ । यही नाम गरेको अर्को कोही महिला नेतृ मकवानपुरमा नभएकोले मेरै नाम होला भन्ने बुझेको छु’, पवित्रा विश्वकर्माले भनिन्, ‘लामो समयदेखि कांग्रेसको राजनीतिमा निरन्तर लागिपर्दै आएको छु, यस पटक पार्टीले उचित मुल्यांकन गर्नेछ भन्ने विश्वास लिएको छु ।’

यता बन्दसूचीमा नाम समावेश भएकी अर्की नेतृ सर्मिला श्रेष्ठले पनि आफ्नो नाम समावेश गरिएकोमा खुसी व्यक्त गरिन् । पार्टीको योजना अनुसार अघि बढ्दै जाने उनको प्रतिबद्धता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.