हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३ मा रहेको श्री कालिका आधारभूत विद्यालयमा ४३औँ अभिभावक भेला बुधबार सम्पन्न भएको छ । भेलाबाट विद्यालय व्यवस्थापन समिति (विव्यस) पुनर्गठन गरिएको छ । भेलाबाट पुन: संगीता वाइबाकै नेतृत्वमा ७ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार विद्यालयमा हाल २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । प्रस्तुततथ्यांकअनुसार करिब ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी मात्र नियमित रूपमा विद्यालयमा उपस्थित हुने गरेका छन् ।
यस्तै, १० प्रतिशत विद्यार्थीले परीक्षा नदिएको उल्लेख गरिएको छ । प्रधानाध्यापक न्यौपानेले अभिभावकको संरक्षण अभाव, जानकारी नदिई बोर्डिङ विद्यालयतर्फ जाने प्रवृत्ति तथा विद्यार्थी विद्यालय छोड्ने समस्या बढ्दै गएको जानकारी दिए । यसले विद्यालयको शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर परेको उनको भनाइ छ । पदभार ग्रहण गरेपछि अध्यक्ष वाइबाले केही विद्यार्थी आफन्तको घरमा बसेर अध्ययन गर्दा पढाइ छुट्ने गरेको, कमजोर आर्थिक अवस्थाका कारण तथा कामको खोजीमा अन्यत्र जाने क्रममा विद्यालय छोड्ने समस्या देखिएको बताइन् ।
उनले आगामी दिनमा अभिभावकसँगको समन्वय बढाउँदै विद्यार्थी टिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वाइबाको अध्यक्षतामा सम्पन्न भयो ।















