हेटौंडा । बर्दियामा मोटरसाइकल दुर्घटनापछि आफ्नै सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए । दुर्घटनापछि पछाडि सवार ठाकुरबाबा–९ बेथहनीका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसारामको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनापछि घाइते अवस्थामै रहेका आसारामलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेका थिए।
त्यसपछि मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरी शव सिँचाइ नालामा फालेर फरार भएको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















