हेटौंडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार पदबाट राजीनामा दिएकी छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम राजीनामा दिएकी हुन् ।
मन्त्री पौडेलको राजीनामापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोही दिन मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गरिएको पुनर्गठनमा हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ।
नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैं सम्हाल्ने भएका छन्। शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण तथा कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन पुनर्गठन गरिएको बताएका छन्।















