क्यान्सर रोग निबारणको लागी विषादी रहित तरकारी उत्पादनबारे सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । ग्याष्ट्रिक लगायतका क्यान्सर रोग न्यूनीकरणका लागि विषादी रहित तरकारी उत्पादन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको आयोजना, हेटौडा उपमहानगरपालिका को सहकार्य र शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था को समन्वयमा सम्पन्न भएको हो ।

संस्थाका सभापति माधव अधिकारीको सभाध्यक्षता तथा हेटौडा उपमहानगर पालिका को वडा नं. १७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडा र बागमती प्रदेश संयोजक गणेश कोईरालाको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको स्वागत तथा उद्देश्यबारे संस्थाका उपाध्यक्ष भिमप्रसाद तिमल्सिनाले स्पष्ट पारेका थिए भने सञ्चालन सचिव जयप्रकाश घिमिरेले गरेका थिए।

प्रमुख अतिथि वडा अध्यक्ष उद्धव सत्यालले स्थानीय स्तरमा अत्यधिक र असुरक्षित रूपमा विषादी प्रयोग भइरहेको सन्दर्भ उल्लेख गर्दै सकेसम्म रासायनिक विषादीको सट्टा जैविक विषादी प्रयोग गर्न र रासायनिक विषादी प्रयोग गर्नै परे सुरक्षित विधि अपनाउन आग्रह गरे। उनले क्यान्सर जस्ता घातक रोगबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै संस्थाप्रति धन्यवाद व्यक्त गरे।

केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सरको बढ्दो अवस्था, विषादीको प्रयोगले हुने जोखिम, लक्षण तथा बच्ने उपायबारे जानकारी गराए। उनले सन् २०२० मा गरिएको अध्ययन अनुसार सुर्तिजन्य पदार्थबाट राज्यले १८ अर्ब राजस्व उठाउँदा त्यही कारण उत्पन्न रोगहरूको उपचारमा ४० अर्बभन्दा बढी खर्च भएको तथ्य प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सरकारसँग आग्रह गरे।

बागमती प्रदेश संयोजक गणेश कोईरालाले “स्वस्थ खाना, विषादी रहित तरकारी र स्वस्थ जीवनशैली क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय” भएको बताए। उपाध्यक्ष भिमप्रसाद तिमल्सिनाले महिला लक्षित कार्यक्रममार्फत विषादीको उचित प्रयोग र जैविक विकल्पबारे चेतना फैलाउने कार्यक्रमको उद्देश्य रहेको जानकारी दिए।

सभापति माधव अधिकारीले क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्दै विषादीको असुरक्षित प्रयोगका कारण जोखिममा परेका नागरिकलाई सुसूचित गर्नु संस्थाको नीति अनुरूपको कार्य भएको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने उपमहानगरपालिका र सहकारीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा कृषि प्राविधिक गणेश खड्काले विषादीका प्रकार, सुरक्षित प्रयोग विधि, विषादी न्यूनीकरणका उपाय, सुरक्षित कृषि अभ्यास र व्यक्तिगत सुरक्षाबारे सहजीकरण गरेका थिए।

उक्त अवसरमा शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष शान्ता गौतम, व्यवस्थापक जानुका ढुंगाना तथा सदस्यहरू मिठु भण्डारी, अस्मिता भुसाल, गुना बस्ताकोटी लगायतले अन्धाधुन्ध र असुरक्षित रूपमा विषादी प्रयोग भइरहेको अवस्थाबाट सचेत भएको बताउँदै अब जैविक विषादी प्रयोग गर्ने र रासायनिक विषादी प्रयोग गर्नै परे सुरक्षित तरिकाले प्रयोग गर्ने प्रतिबद्धता जनाए। क्यान्सरको बारेमा सचेत गराउनु भएकोमा नेपाल अर्बुद रोग निवारण संस्थालाई धन्यबाद ज्ञापन गर्नुको साथै स्थानीय सरकारले जैविक विषादी उत्पादनका लागि आवश्यक वातावरण र सामग्री उपलब्ध गराउन मागसमेत राखेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान सभापति कपिला जोशी, कोषाध्यक्ष लक्ष्मण महत, सहसचिव पुरुषोत्तम पौडेल, सदस्यहरू डा. बलराम भट्ट, मानबहादुर लामा, मेनुका खड्का, जानकी गिरी लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.