“प्रतिफल नआउने बजेट बन्द गरौं” — मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अब प्रतिफल नआउने बजेट बन्द गर्नुपर्ने बताएका छन् । उनले जनता र प्रदेश दुबैको आम्दानी बढाउने खालको योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

शनिबार हेटौँडामा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा मुख्यमन्त्री बानियाँले भने, “बालुवामा पानी हालेको जस्तो बजेट बनाउन नहुने हो, अब प्रतिफल आउने बजेट आवश्यक छ ।”

उनका अनुसार, लगानीबाट प्रतिफल आउनुपर्ने र त्यो प्रतिफललाई पुनः अन्य क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण बनाउनेतर्फ प्रदेश सरकार र सबै तहका सरकारहरू गम्भीर बन्नु जरुरी छ ।

मुख्यमन्त्री बानियाँले राजनीतिक अभिष्ट पूरा गर्नकै लागि बजेट बनाउने परिपाटी अन्त्य गर्नुपर्ने बताउँदै जनतालाई रोजगारी दिने, उत्पादकत्व बढाउने र परिणाममुखी योजनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

“राजनीतिक अवस्था बदलिएको छ, अब जनताको अवस्था परिवर्तन गर्न कठोर बन्नुपर्ने बेला आएको छ,” उनले भने ।

मुख्यमन्त्री बानियाँले विकासका लागि नै प्रदेश संरचना बनाइएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुक सञ्चालन गर्न राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने बताए । साथै, साझा र एकल अधिकारका विषयमा अल्झिनु भन्दा सहकार्य गरेर परिणाममुखी काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिवहरूले आफ्ना प्रदेशहरूको आर्थिक अवस्था र राजस्व प्रवृत्तिबारे प्रस्तुति दिएका थिए । सो अवसरमा सातै प्रदेशको आन्तरिक राजस्व प्रवृत्ति विश्लेषण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।

त्यस्तै, फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष डा। खिमलाल देवकोटाले “वित्तीय संघीयता कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा” शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, सातै प्रदेशका सचिवहरू, प्रदेश लेखा नियन्त्रक, मन्त्रालय तथा आयोगका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.