हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मकवानपुरमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । सबै पक्षबीचको समन्वय, सहयोग र आचारसंहिताको पालना भएका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको सरोकारवालाहरूले बताएका छन् ।
दुवै निर्वाचन क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रदेश निर्वाचन कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीबीचको सहकार्यका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताएका थिए । सो क्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, कर्मचारी तथा सुरक्षा निकायको सक्रिय सहयोगका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताइन् ।
उनले राजनीतिक दलहरूले आचारसंहिताको पालना गरेको, सञ्चारकर्मीहरूले सन्तुलित रूपमा समाचार सम्प्रेषण गरेको तथा कर्मचारी र सुरक्षा निकायले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गर्दै यसले निर्वाचन व्यवस्थापनलाई सहज बनाएको बताइन् । श्रेष्ठले राजनीतिक दलहरूबीच कायम भएको सद्भाव र सहकार्यप्रति सम्मान व्यक्त गर्दै यसले निर्वाचन प्रक्रियालाई अझ व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन ।
यस्तै, निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले मकवानपुरमा सम्पन्न निर्वाचन अन्य जिल्लाका लागि समेत अनुकरणीय उदाहरण बनेको बताए । सुरुमा केही स्थानमा आचारसंहिता उल्लंघनका घटना देखिए पनि अन्त्यतिर सबैले आचारसंहिताको पालना गरेकाले निर्वाचन व्यवस्थित रूपमा सम्पन्न गर्न सहज भएको उनको भनाई थियो ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि मत परिणाम सार्वजनिक हुँदासम्म सबै पक्षबाट महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । छोटो समयमै सबै निकायको समन्वय र सकारात्मक सहयोगका कारण निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले उल्लेख गरे ।
उनले आगामी दिनमा मतदान प्रक्रियालाई अझ सहज बनाउन डिजिटल मतदान प्रणालीतर्फ जानुपर्ने आवश्यकता पनि औंल्याए । पुरानै शैलीको मतदान प्रणालीका कारण प्रक्रिया केही झन्झटिलो हुने भएकाले प्रविधिमैत्री निर्वाचन प्रणालीको विकास आवश्यक रहेको उनको धारणा थियो ।
समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ, नागरिक समाज, उम्मेदवार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आगामी निर्वाचनलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सुझावसमेत दिएका थिए ।

















