३४ लाख बराबरको भन्सार छलि गरिएका सामानसहित दुई जना मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । भन्सार छलि गरी ल्याइएका ३४ लाख रुपैयाँ बराबरका सामानसहित मकवानपुर प्रहरीले आज बिहान दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध कपडा र प्रतिबन्धित पटकासहित रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, आज बिहान करिब ४ः१० बजेको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा बिरगंजबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडीमा शंका लागी रोकी तलासी लिँदा उक्त सामान बरामद गरिएको हो । गाडी चालक रौतहटका प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडाका विजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा गाडीको पछाडिको ढालाभित्र भन्सार छलि गरी लुकाइ–छिपाइ ल्याइएका करिब १४ लाख रुपैयाँ बराबरका १३० थान साडी, ६९६ थान कुर्था र १७५ थान टप्स गरी जम्मा १ हजार १ थान कपडा , गाडीभित्र प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायत फेला परेको र ती वस्तुको अनुमानित मूल्य करिब २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद सामान, गाडी र दुबै जना जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.