हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा बापतको खर्च ५० प्रतिशतले कटौती गरी गरिब विपन्नको घर बनाउर्ने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोवस्ती बापतको खर्च ५० प्रतिशत कटौती गर्ने र आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) का विपन्न नागरिकको घर आवास निर्माण गर्ने घोषणा गरेका हुन् ।
उनले आगामी दशैँ अगाडि नै उक्त प्रकृया कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीतासहित काम गर्ने भन्दै उनले आफु मुख्यमन्त्री नियुक्त भएसँगै बसेको पहिलो क्याबिनेट बैठकले गरिब विपन्न वर्ग लक्षित छात्रवृत्ति वितरणको निर्णय गरिएको जानकारी गराए ।
आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएर निराशा बनेका सीमान्तकृत जातजाति वनकरिया, थामी, चेपाङ, जिरेल, पहरी लगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने मुख्यमन्त्री बानियाँले बताए । साथै उनले विगतमा भएका राम्रा कार्यहरूलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने समेत बताए ।
सरकारले विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनको जोड थियो । सरकार नागरिक प्रति उत्तरदायी, पारदर्शी जवाफदेही भएर अघि बढ्ने उनले दाबी गरे ।

















