हेटौँडा । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्रीहरूको शपथ आज हुँदैछ । बुधबार स्थगित भएको शपथ ग्रहण आज दिउँसो १ बजे हुने भएको छ । एमालेको आपत्तिको कारण बुधबार शपथ कार्यक्रम रोकिएको थियो । मुख्यमन्त्री लामाले चितवन, धादिङ र गोरखाका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले तयारी अघि बढाएका छन् भने प्रदेश प्रमुख कार्यालयले सार्वजनिक सूचना आह्वान गर्दै शपथ बारे जानकारी गराएको हो । हिजो मन्त्रीको नियुक्तिको पत्रसहित प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री लामालाई तत्काल उक्त काम नगर्न एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले रोकेका थिए ।
सोही अनुसार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पनि संसदीय दलको नेता चयनको प्रक्रिया प्रभावित हुने भन्दै शपथ ग्रहण कार्यक्रम स्थगितको प्रस्ताव गरेका थिए । मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे शपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
उनले चितवनकी माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने गरी प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका छन् ।

















