मकवानपुर । नेपाली समाजमा प्राचीनकालदेखि प्रचलित परम्पराअनुसार आज साउन १५ का अवसरमा खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ।
वर्षा ऋतुको मध्य समय पर्ने साउन १५ लाई नेपाली संस्कृतिमा स्वास्थ्य, धर्म र सामाजिक मेलमिलापसँग जोडिएको पर्वका रूपमा लिइन्छ।
साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने गरिन्छ ।
साउन भगवान् शिवको महिना भएकोले शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरुको भनाई छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने चलन रहिआएको छ ।














