ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न सशस्त्र प्रहरी परिवार महिला संघलाई मन्त्री तामाङको निर्देशन

हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सशस्त्र प्रहरी परिवार महिला संघलाई ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न निर्देशन दिएकी छन् ।

मंगलवार हेटौँडा उपमहानगरपालिका–८ स्थित १४ नम्बर गण हेड क्वाटर, मकवानपुरमा आयोजित सशस्त्र प्रहरी परिवार महिला संघको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो निर्देशन दिएकी हुन् । उनले महिला सशस्त्र प्रहरी समूहले पुरुष सरह राज्यलाई योगदान दिन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।

उनले लक्ष्य प्राप्तिका लागि धेरै कठिनाइहरू पार गर्दै आजको अवस्थामा आइपुगेको संघलाई बधाई दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने महिला सशस्त्र प्रहरी निरीक्षक गोमा परियार, इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरी निरीक्षक विमला कठायत, जवान मिरा राई र सुक्स्मा दर्लामी मगरलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, विभिन्न क्षेत्रमार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएका बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुमित्रा गौतम, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा औद्योगिक क्षेत्रकी व्यवस्थापक संगिता कुँवर, पत्रकार सरिता दाहाल, नेपाल बार एसोसिएसन मकवानपुरकी कानुन व्यवसायी अप्सरा बस्नेत, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, र जिल्ला अस्पताल मकवानपुरकी बालरोग विशेषज्ञ डा. सम्झना फुँयाललाई पनि सम्मान गरिएको थियो ।

बागमती प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अञ्जना पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति अञ्जनी कुमार पोखरेलसहित अन्य विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.