हेटौँडामा २५ केजी भारसहितको ड्रोनको सफल परीक्षण, विपद् व्यवस्थापनमा उपयोगी हुने आशा

हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडामा २५ केजीसम्मका अत्यावश्यक सामग्री बोकेर उड्न सक्ने ड्रोनको सफल परीक्षण गरेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय र आइडिया हब इन्टरनेसनलको सहकार्यमा हेटौँडाको गौरीटार रंगशालामा  ड्रोनको सफल परीक्षण गरेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न परीक्षणमा  ड्रोनमार्फत् आपतकालीन राहत ढुवानीको अभ्यास गरिएको थियो ।

सो क्रममा बोल्दै मुख्यमन्त्री लामाले नेपाल जस्तो जोखिमयुक्त भूगोल भएको देशमा ड्रोन प्रविधि प्रभावकारी हुने बताउँदै त्यसको नियमनका लागि आवश्यक कानून निर्माण गरिने उल्लेख गरे ।

यस्तै, श्रम मन्त्री प्रेमभक्त महर्जनले बिपद् व्यवस्थापन, यातायात र सुशासनमा प्रविधिको महत्व औँल्याउँदै ड्रोन प्रविधि प्राकृतिक प्रकोपका बेला राहत पुर्याउने प्रभावकारी विकल्प बन्ने विश्वास व्यक्त गरे ।

ड्रोन निर्माता कम्पनी आइडिया हबका सुरज पौडेलले उक्त ड्रोनले खाद्यान्न, औषधि, विषादी छर्ने काम गर्न सक्ने र डाँडाबाट डाँडामा राहत पुर्याउन सक्षम रहेको जानकारी दिए ।

कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, एमाले प्रमुख सचेतक मधुसुदन पौडेल, विभिन्न मन्त्रालयका सचिव तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.