हेटौँडा । मकवानपुरको हेटौंँडा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकालाई यही असार ११ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने भएको हो ।
यससँगै मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनेछ । यसअघि जिल्लाको ९ वटा पालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा भइसकेका छन् ।
जसनुसारभीमफेदी गाउँपालिका जेठ २६ गते, बकैया गाउँपालिका जेठ २८ गते, बागमती गाउँपालिका जेठ २९ गते, कैलाश गाउँपालिका जेठ ३० गते, थाहा नगरपालिका र गढी गाउँपालिका असार ३ गते, इन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिका असार ४ गते तथा मनहरी गाउँपालिका असार ५ गते पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणाका लागि जिल्ला खोप समन्वय समितिबाट प्रदेशको खोप समन्वय समितिलाई प्रमाणीकरणका लागि सिफारिस गरेको जनस्वास्थ्य कार्यालय मकवानपुरका, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमालले जानकारी दिए ।
प्रमाणीकरण भएपश्चात् जिल्ला पूर्णखोप सुनिश्चित भई दिगोपना योजनाका लागि तयारी गरिने उनको भनाई छ ।
















