मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४, स्थित महेन्द्र माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक नियुक्ति नियम विपरीत भएको उच्च अदालत पाटन, हेटौँडा इजलासले ठहर गरेको छ ।
उक्त विद्यालयमा गरिएको अघिल्लो नियुक्ति नियम विपरीत भएको गत जेठ ५ गतेको अदालतका न्यायाधीशद्वय डा. शान्ता सेढाई सापकोटा र सानु मैया डंगोलको संयुक्त इजलासले ठहर गरेको हो ।
शिक्षा नियमावली २०५९ को नियम ९३ (१२) मा विद्यालयमा प्रधानाध्यापकको पद रिक्त भएको अवस्थामा सोही विद्यालयमा कार्यरत वरिष्ठतम स्थायी शिक्षकलाई नै निमित्त प्रधानाध्यापक तोक्नुपर्ने व्यवस्था रहेको छ ।
तर, विद्यालय व्यवस्थापन समितिले तृतीय श्रेणीकी स्थायी शिक्षिका र निम्न माध्यमिक तहकी कर्मचारी शिक्षिका देवकी सिग्देललाई निमित्त प्रधानाध्यापकको रूपमा नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध खेम बि.क.ले गत २०८१ फागुन १२ गते उच्च अदालत पाटन, हेटौँडा इजलासमा रिट दर्ता गरेका थिए ।
अदालतले शिक्षा नियमावलीको पालना गर्दै वरिष्ठ विज्ञान शिक्षक खेम विकको पक्षमा फैसला सुनाउँदै उनलाई तत्काल निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिन आदेश समेत दिएको छ ।
अदालतको आदेशमा भनिएको छ, “माध्यमिक शिक्षक हुँदा हुँदै निम्न माध्यमिक शिक्षकलाई निमित्त प्रधानाध्यापक तोक्नु कानूनी व्यवस्था विपरीत हो । कानूनी शासनमा यस्तो कामलाई मान्यता दिन सकिँदैन ।”
खेम बि.क. सिन्धुली जिल्लाबाट स्थायी नियुक्ति पाएका माध्यमिक तहका विज्ञान शिक्षक हुन् । उनी शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीबाट वि.सं. २०७९ साल मंसिर २८ गते स्थायी नियुक्ती प्राप्त गरी श्री क्यानेश्वर माध्यमिक विद्यालय हरिहरपुरगढी–८, मा विज्ञान विषयको शिक्षकको रुपमा कार्यरत थिए ।
यसै क्रममा मकवानपुरको बकैया–४, छतिवनस्थित महेन्द्र माविमा २०८१ माघ १९ गते सरुवा सहमतिको आधारमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको २०८० माघ ५ गते जिल्लास्तर सरुवा लिई सोही महिनाको १० गते साविक विद्यालयबाट रमाना पत्र बुझी हाल कार्यरत विद्यालयमा २०८० चैत्र १३ गतेबाट हाजिर भई एक मात्र माध्यमिक वरिष्ठ तृतीय शिक्षकको रुपमा पठनपाठन गराउँदै आइरहेका छन् ।
उक्त विद्यालयमा हाजिर हुनुपूर्व नै नि.मा.वि. तृतिय, अंग्रेजी शिक्षिका सिग्देललाई निमित्त प्रधानाध्यापक दिने विपक्षी व्यवस्थापन समितिले निर्णय गरेको र शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले वि.सं. २०८० चैत्र ९ गतेको पत्रले सिग्देललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रधानाध्यापक तोकेको थियो ।
बि.क. ले सो विद्यालयमा हाजिर भएलगतै सो कुराको जानकारी पाएको र प्रधानाध्यापक चयनको लागि पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि नभएपछि आफुले अदालतमा निवेदन दिएको बताएका छन् ।
विधालय व्यवस्थापन समितिले वि.सं. २०८१ भदौ ५ मा बकैया गाउँपालिका गाउँकार्यपालिकालाई निमित्त प्रधानाध्यापक सिग्देललाई नै निरन्तरता दिने भनी पठाएको पत्र उत्प्रेशनको आदेशले बदर गरिदिएसँगै उक्त निर्णय नै नियम विपरीत भएको उनको भनाई छ ।

















