हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४, फरेष्टी गेटबाट प्रहरीले अबैध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका ४२ वर्षीय अनुप कुमार रुम्बा र ३३ वर्षीय मणी लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु आर्याले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हिजो असार ४ गते बुधबार साँझ ६ बजेको समयमा शंकास्पद रूपमा बसेका दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ७७० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।
सामान्य जाँचका क्रममा प्लास्टिकमा प्याक गरिएको उक्त परिमाणको लागूऔषध फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले बताए ।
उनीहरूमाथि लागुऔषध (खैरो हेरोइन) सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। मकवानपुर प्रहरीले लागूऔषधको प्रभाव नियन्त्रण गर्न निगरानी तथा अपरेसनलाई थप कडा बनाएको छ।

















