हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट लागूऔषध र अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार, विगतमा समेत लागूऔषध तथा हातहतियार मुद्दामा पटक–पटक जेल सजाय भोगिसकेका उनलाई गत जेठ ३१ गते साँझ ७ बजेको समयमा विशेष सूचना पाएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीले स्याङतानको घरमा छापा मारेको थियो । छापा मार्ने क्रममा घर र गोठमा व्यापक खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध र हतियार बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काको भनाई छ ।
प्रहरीले उनको घर तथा गोठबाट लुकाइछिपाइ राखेको अवस्थामा ७ दशमलव ६५ एमएम युनिभर्सल मेड ईन ईटाली २५ लेखिएको म्यागजिनसहितको १ थान पेस्तोल, खाली म्यागजिन थप १ थान र १३ थान गोली, १ थान कटुवा पेस्तोल र ८ एमएमका १२ राउण्ड गोली, लागूऔषध अफिम १ किलो ३१० ग्राम, २२ किलो ८०० ग्राम गाँजा बरामद गरेको हो ।
स्याङतानको विगतका आपराधिक अभिलेख हेर्दा उनले वि.सं. २०७६ साउन ४ गते लागूऔषध तथा हातहतियार मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय भुक्तान गरी माघ २०८१ मा जेलमुक्त भएका थिए । त्यसअघि पनि वि.सं. २०७१ मा लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय भोगिसकेका थिए ।
स्याङतानविरुद्ध लागूऔषध तथा हातहतियार मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक खड्काले बताए ।

















