“अपराध रोक्न समुदायसँगै प्रहरी, अपराधीमाथि निर्मम कारबाहीको तयारी”

मकवानपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले अपराध रोक्न समुदायसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै अपराध हुनुअघि नै नियन्त्रण गर्ने रणनीति अघि सारेको बताएका छन् ।

सोमबार हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा आयोजित सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले अपराध रोकथामका लागि प्रहरी एक्लैले सम्भव नहुने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, “समस्या भएको १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्न सक्नुपर्छ । अपराध हुन नदिन समुदायसँग सहकार्य गर्दै, अपराध भएको खण्डमा निर्मम कारबाहीको तयारी भइसकेको छ ।”

उनले समाजमा सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी गस्ती, जनगुनासोको तत्काल सम्बोधन र समुदाय–प्रहरी सम्बन्ध बलियो बनाउने बताए । उनले जनतालाई असहज बनाउने झोला तान्ने, यात्रुहरूमाथि दुव्र्यवहार गर्ने तथा गुण्डागर्दी गर्ने जस्ता साना तर, गम्भीर अपराधहरूलाई तुरुन्त नियन्त्रण गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी दृढ रहेको उल्लेख गर्दै, समाजमा अशान्ति फैलाउने कुनै पनि गतिविधि सह्य नहुने उनले चेतावनी दिए । अपराधमा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट गर्दै हेटौँडा जस्ता शहरी क्षेत्रमा हुने ‘झोला तान्ने’ वा यात्रुहरुलाई दुःख दिने कार्यमा संलग्न जो–कोहीलाई कानूनअनुसार कडा कारबाही हुने उनको भनाई छ ।

त्यस्तै, प्रहरी मातहतका निकायलाई हर जनगुनासोलाई गम्भीरतापूर्वक लिने, चाँडो जवाफ दिने, र जनविश्वास जित्ने काममा केन्द्रित हुन निर्देशन दिइएको छ । प्रदेशभरिका जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गर्दै, समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरू सञ्चालन भइरहेको र तिनले अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको समेत उनको भनाई छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक प्रहरी कार्यालयका प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत प्रहरी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.