हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला सकिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११, स्मारक होटलमा मंगलबारबाट भएको भेला बुधबार सकिएको हो ।
प्रदेशका १३ जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको सहभागितामा भएको सो भेला १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । जारी घोषणापत्रमा पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य बीमा र दुर्घटना बीमामा समेट्न, स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन माग गरेको छ ।
यस्तै, पत्रकारलाई महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न, सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गीकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै, महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई र महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्नलगायत घोषणापत्रमार्फत् जारी गरिएकोहो ।
उक्त भेलाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेका थिए ।

















