हेटौँडामा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य (सांसद) एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा बोल्दै सांसद श्रेष्ठले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानको रुपमा लिनुपर्ने बताए ।

बागमती प्रदेशका पूर्व खानेपानी तथा सिँचाइ मन्त्री समेत रहेका उनले संविधान बने पनि कार्यान्वयनमा अपेक्षित सक्रियता नदेखिएको भन्दै सरोकारवालाहरूको चासो, जिज्ञासा र दबाब आवश्यक रहेको औंल्याए । साथै, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको सुनिश्चितताका लागि सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले जनताको वास्तविक समस्या उजागर गर्न आग्रह गरे ।

कार्यक्रममा मानव अधिकार आयोगका अधिकृत कृष्णप्रसाद मिश्रले प्रस्तुतीकरण दिएका थिए । उनले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरु, यसका अन्तर्राष्ट्रिय कानूनी आधारहरु, सम्मान, संरक्षण र परिपालनामा राज्यको दायित्व, सहभागीता र समावेशी, जवाफदेहिता, अविभेद, सवलीकरण, कानूनी शासनमा आर्थिक, उजुरी ग्रहण, अनुसन्धान, अनुगमन, सिफरिस, यु.पी.आरको प्रतिवेदनमा राष्ट्रिय मानव अधिकारी आयोगको भूमिकाबारे प्रस्तुतीकरण दिए ।

कार्यक्रममा सहभागीहरुले पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले पनि शिक्षाको नाममा पैसा उठाइरहेको अवस्था रहेको भन्दै यसबारे सरोकारवालाको ध्यान जान जरुरी रहेको बताएका थिए ।

यस्तै, उनीहरुले एकल महिलाको अधिकारलाई कसरी स्थापित गराउने, मानव बेभविखनलाई कसरी न्यूनीकरण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको प्रादेशीक नीति–निर्माणमा सरोकारवालाले प्राथमिकता दिनुपर्ने भन्दै विभिन्न सिप, तालिम लिएर सानो उद्यमी खोलेर बसेकाहरुलाई बजारीकरणमा सहयोग गर्न माग गरेका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाई, बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोद अमात्य, विभिन्न मन्त्रालयका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.