हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद अवार्ड २०८२ को आयोजना गर्ने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश खेलकुद अवार्डको आयोजना गर्न लागेको हो ।
खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको आज बिहीबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले यही जेष्ठ ४ गते आइतबार खेलकुद अवार्डको आयोजना गर्न लागेको जानकारी दिए । खेलकुद अवार्ड हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित हुप्राचौरमा हुने उनले बताए ।
अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला–पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकारसहित विभिन्न ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिने मन्त्रालयका निमित्त सचिव सूर्य बहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार, उत्कृष्ट महिला र पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधामा जनही ५०–५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त खेलकुद अवार्डका लागि मन्त्रालयले दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप–समिति गठन गरिएको छ । उक्त उप–समितिले अवार्डका लागि खेलाडी वा प्रशिक्षकका रुपमा विगतमा पुर्याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने गरी प्रदेशको १३ वटै जिल्लाका खेलाडीहरुलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा हुनेछ । अवार्ड कार्यक्रममा ३० लाख रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दहालले जानकारी दिए ।
साथै अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहने छ भने कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने पनि जनाइएको छ ।














