मकवानपुरको सिस्नेरीमा लोडर सडकबाट ८० मिटर तल खस्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी–काठमाण्डौ सडकखण्डमा आज दिउँसो ह्विल लोडर दुर्घटना भएको छ ।

खानीखेतबाट फास्टट्रयाकतर्फ गइरहेको बा.प्र.०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर गाडी अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकको बायाँ भित्तामा ठोक्किएर करिब ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार, लोडरमा सवार दुई जनामध्ये एक जना हामफालेर सकुशल जोगिन सफल भएका छन् भने एक जना घाइते भएका छन् ।

घाइते हुनेमा लोडर चालक महोत्तरी जिल्लाको टुटेश्वर नगरपालिका–५, बर्दिबास निवासी ३१ वर्षीय अशोक कुमार महत रहेका छन् । उनको निधार र पेटमा चोट लागेको छ भने अवस्था मध्यम छ ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी चौकी सिस्नेरीबाट प्रहरी निरीक्षक राम प्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो।
प्रहरी टोलीले घाइतेलाई उद्धार गरी तत्काल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.