चितवन । चितवनको राप्ती नगरपालिका–४ स्थित डडुवा भन्ने स्थानमा यात्रुवाहक बस र इभी माइक्रोबस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई जनाको सनाखत भएको छ ।
मृतकमध्ये मकवानपुरका दुई जना रहेको पुष्टि भएको छ । उनीहरुमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौँडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । अन्य पाँच मृतकको सनाखत प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सबैको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनामा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फको लागि छुटेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरकोगरेको इभी माइक्रो बस एक आपसमा ठोक्किएको थियो ।
घाइते १८ जनामध्ये धेरैजसोको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाईएको छ ।

















