मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र हुस्सुका कारण चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।
दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ का २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही ट्रकमा सवार उनका काका नाता पर्ने ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान ९:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो। ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।















