हेटौंडा। मकवानपुरको हेटौंडामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बुधबार अपराह्न करिब १६:३० बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित भित्री बाटो नमुना चोक क्षेत्रमा बुद्ध चोकतर्फबाट नमुना चोकतर्फ जाँदै गरेको बा.प्र ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण स्थानीय राजु नेपालीको घरको पिँढीमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–१० आनन्दटोल निवासी अन्दाजी २१ वर्षीय सागर स्याङ्तानलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।
प्रहरीका अनुसार उपचारकै क्रममा साँझ ५:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकहरूलाई तीव्र गति नअपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सवारी साधन चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न अनुरोध गरेको छ।
साथै, सुरक्षित र सजग भई सवारी चलाउन आग्रह गर्दै दुर्घटना न्यूनीकरणमा सहयोग गर्न सर्वसाधारणमा अपिल गरेको छ।















